Murchunga TV

हेटौँडा उपमहानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक

हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगरभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले ४ गते आधिकारिक रूपमा नतिजा सार्वजनिक गर्दै कूल २२२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो। यस छात्रवृत्तिबाट मकवानपुरसहित विभिन्न प्रदेशका विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि अवसर प्राप्त गरेका छन्।

हेटौँडा उपमहानगरपालिकामा कहाँका विद्यार्थीले पाए छात्रावृत्ति ?

प्राप्त नतिजाअनुसार छात्रवृत्ति पाउनेमध्ये सबैभन्दा बढी मकवानपुर जिल्लाका रहेका छन्। हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न पालिकाका गरी जम्मा ११८ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी, मधेश प्रदेशबाट ९८ जना, बागमती प्रदेशका अन्य जिल्लाबाट ४ जना, साथै गण्डकी र कर्णाली प्रदेशबाट १–१ जना विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएका छन्।

स्थानीय तहबाट प्रदान गरिने यस्तो छात्रवृत्तिले आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ। सार्वजनिक गरिएको नतिजाले देशभरका विद्यार्थीहरूलाई समेट्दै शिक्षामा समावेशिताको सन्देश दिएको छ। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले अब उपमहानगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कक्षा ११ को अध्ययन अघि बढाउनेछन्।

यो पनि पढ्नुहोस्– हेटौँडा १२ भोर्लेमा साईकल भिरबाट खस्दा २ बालक घाईते

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.