Murchunga TV

रसुवा बाढी: हेटौँडा उपमहानगरद्वारा उद्धार टोली र उपकरण परिचालन

Rasuwa Baadhi

हेटौँडा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले खोज तथा उद्धार कार्य तीव्र पारेको छ। बाढीका कारण प्रभावित क्षेत्रमा फसेका तथा तीर्थयात्रामा गएर सम्पर्कविहीन भएका नगरवासीहरूको खोजी र उद्धारका लागि उपमहानगरपालिकाले आफ्नो औपचारिक निर्णयसहित उद्धार टोली घटनास्थलतर्फ पठाएको छ।

कार्यपालिका बैठकका प्रमुख निर्णयहरू
मङ्गलवार बिहान बसेको उपमहानगरपालिकाको ९१औँ नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन ६ बुँदे निर्णय गरेको छ। प्रवक्ता सविन न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार विपद्मा परेकाहरूको यथार्थ विवरण संकलन गर्न सम्बन्धित वडा कार्यालयहरूलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालको नेतृत्वमा ७ सदस्यीय नगर प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको छ। उपमहानगरसँग रहेका उद्धार उपकरण तथा सामग्रीहरू जिल्ला विपद् व्यवस्थापनमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ।

मेयर लामाद्वारा घटनास्थल जाने तयारी र सहयोगको अपिल
नगरप्रमुख मीना कुमारी लामाले फेसबुकमार्फत बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उपमहानगरपालिकाको टोली उपकरणसहित अघि बढिसकेको जानकारी दिनुभएको छ। उहाँले कठिन घडीमा सबैबाट साथ र सहयोगको आह्वान गर्दै आफू लगायत केही जनप्रतिनिधिहरू पनि अनुकूलता हेरेर घटनास्थलतर्फ जाने तयारीमा रहेको उल्लेख गर्नुभएको छ।

सम्पर्कका लागि सूचना केन्द्र र फोकल पर्सन तोकिए
बाढी प्रभावित क्षेत्रमा फसेका नगरवासी वा उनीहरूका परिवारले आवश्यक सूचना लिन वा दिनुपरेको अवस्थामा उपमहानगरपालिकाले दुई जना अधिकारीहरूको सम्पर्क नम्बर सार्वजनिक गरेको छ:

विपद् फोकल पर्सन: हिमप्रसाद पौडेल (९८४५०२८२२१)
नगर प्रहरी इन्चार्ज: नेत्रप्रसाद ढकाल (९८५५०९०२३८)

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.