मकवानपुर । द भोईस किड्स नेपाल सिजन ५ की विजेता सुवाश्ना खड्का केसीको पहिलो गीत ‘खोर्सानी खायो मैनाले’ सार्वजनिक भएको छ । चर्चित संगीतकार महेश खड्काको शब्द र संगीतमा तयार भएको गीतमा सुवाश्ना र गायक हसन राईको आवाज रहेको छ ।

संगीतकार खड्काकै अफिसियल युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई नरेश बिबिसीले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतलाई सुनिल राईले एरेञ्ज गरेका छन् ।

म्युजिक भिडियोमा सुवाश्नासँगै गीता ढुङ्गाना, सुरेश कोली र कृश खड्का केसीको अभिनय छ । मिनाक्षी कोराईलाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई विवेक सुनारले सम्पादन र मिलन विश्वकर्माले कलर ग्रेडिङ गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–
सुवाश्ना खड्का केसीको सांगितिक यात्रा
द भोईस किड्स सिजन ५ की विजेता हुन् सुवाश्ना खड्का केसी । कोच वाङ्देन शेर्पाको टिममा रहेकी सुवाश्नाले सर्वाधिक भोट प्राप्त गर्दै विजेता बनेकी हुन् । सुवाश्नाको जीतसँगै शोमा कोच वाङ्देनले पहिलो पटक कोच बनेकै समयमा जीत हासिल गरेको ऐतिहासिक रेकर्ड राखेका छन् भने सुवाश्नाले पनि एउटा मात्रै कोचको कुर्सी घुमाएता पनि जीत हासिल गरेर चर्चा पाएकी छिन् । फाईनलमा ८ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो ।
कोच सत्यराज आचार्यको टिमबाट कविना राई र सम्राट खनाल, कोच वाङदेन शेर्पाको टिमबाट सुवाश्ना खड्का केसी र क्रियसन रोका, कोच अर्जुन सापकोटाको टिमबाट आर्मन कार्की र आन्वी विष्ट तथा कोच मिलन नेवारको टिमबाट रुईसाङ पाख्रिन र प्रञ्जल ढुङ्गेल फाइनलिस्ट बनेका थिए । सुवाश्नाले यी सबै प्रतियोगीहरुलाई पछाडि पार्दै उपाधि हात पारेकी हुन् । द भोईस किड्स नेपाल सिजन ५ को फाईनलमा पुगेकी पहिलो प्रतियोगी समेत सुवाश्ना खड्का केसी नै हुन् । उनले लाईभ शोको तेस्रो एपिसोडमा पफोमर अफ द डे अवार्ड पनि जितेकी थिईन् । १२ वर्षीया सुवाश्ना खोटाङकी हुन् । हाल उनी जोरपाटीमा बस्छिन् । उनी सुबु नामले पनि परिचित छिन् । उनी कोच वाङ्देनको टिममा थिईन् ।
सुवाश्नाले ब्लाईण्ड अडिसनमा कोच वाङ्देनको कुर्सी घुमाउन सफल भएकी थिईन् । उनका बुवा र आमा दुबै जना शैन्य सेवामा छन् । उनका बुवा बिग्रेडियर जनरल र आमा लेफ्टीनेन्ट कर्नल हुन् । सैनिक स्कूलमा अध्ययनरत सुवाश्ना लगनशिल र अनुशासित रहेको उनकी आमा बताउँछिन् । अध्यययनमा अब्बल रहेकी सुवाश्ना तेक्वान्दो, स्विमिङ, आर्टस् एण्ड क्राफ्ट, स्केचिङ, पेन्टिङ र नृत्य जस्ता बहुमुखी प्रतिभाकी धनी छिन् । मल्टी ट्यालेन्टेट विद्यार्थीका रुपमा चिनिएकी सुवाश्ना आफु बुवाबाट गायन क्षेत्रमा लाग्न प्रेरणा पाएको बताउँछिन् । उनका बुवा पनि राम्रो गीत गाउँछन् । सुरुमा एउटै कोच घुमेन भने सिजन ६ मा आउने लक्ष्य राखेकी सुवाश्ना यसै सिजनमा टाईटल जितेकी छिन् ।
यो पनि हेर्नुहोस्–
सुवाश्ना खड्का केसी बनिन् ‘द भ्वाइस किड्स’ सिजन ५ की विजेता

























