हेटौँडा । नेपाली चलचित्र क्षेत्रमा कलाकारहरूले भोग्नुपर्ने अपमान र विभेदको शृङ्खला फेरि एकपटक सार्वजनिक भएको छ। चर्चित नायिका काजल कर्ण (Kajal Karn) ले फिल्म ‘चिरञ्जिवी भवः’को छायाङ्कनका क्रममा आफूले मधेशी भएकै कारण भोग्नुपरेको चरम अपमान र विभेदको घटना सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्दै काजलले फिल्म सेटमा आफूमाथि भएको मानसिक तनाव र पहिचानमाथिको प्रहारबारे खुलासा गरेकी हुन्। ३५० भन्दा बढी गीतमा काम गरिसकेकी कुशल कलाकार काजलले यस घटनाले नेपाली फिल्म क्षेत्रको संकीर्ण मानसिकतालाई उदांगो पारेको उल्लेख गरेकी छिन्।
जातीय पहिचानमाथि प्रहार र अपमानजनक व्यवहार-Kajal Karn
काजलले आफ्नो पोष्टमा मेकअपका क्रममा आफूमाथि भएको चरम दुर्व्यवहारको उल्लेख गरेकी छिन्। मेकअप आर्टिस्टले उनको अनुहारमा जानीजानी कालो मेकअप दलिदिँदै “तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ” भन्दै अपमानित गरेको उनले बताएकी छिन्। त्यति मात्र होइन, सेटमा रहेका केही व्यक्तिहरूले ‘ओई मधेसेनी, तराईमा भैँसी र गाईलाई कसरी बोलाउँछन्? बोलाएर देखाऊ त’ भन्दै उनको जातीय पहिचान र माटोको खिल्ली उडाएको उनको आरोप छ।
कलाकारलाई मजदुरको व्यवहार
काजलका अनुसार स्क्रिप्टमा कहीँ कतै नभएको काम गराएर आफूलाई दुई दिनसम्म कलाकारको रूपमा नभई मजदुरको रूपमा प्रयोग गरियो। उनलाई जबर्जस्ती फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइएको थियो। सुटिङको लागि आवश्यक पर्ने गाडीको व्यवस्था गर्न प्रोडक्सन पक्षले आनाकानी गरेको र गाडी नपठाएपछि आफैँ पठाओ गरेर जान बाध्य पारिएको उनले खुलाएकी छिन्। यस्तो अमानवीय व्यवहारले आफूलाई कलाकार होइन, एउटा अवाञ्छित वस्तु झैँ महसुस भएको उनको भनाइ छ।
व्यावसायिक मर्यादाको उल्लंघन र एक्कासी निष्कासन
काजलले फिल्म निर्माण पक्षमा रहेको व्यावसायिक मर्यादाको अभावबारे पनि प्रश्न उठाएकी छिन्। इटहरीमा सुटिङ भइरहेका बेला कार्यकारी निर्माता शैलेश खत्रीले झूट बोलेर आफूलाई सेटमा बोलाएका थिए, तर त्यहाँ पुग्दा उनको ठाउँमा अर्को कलाकारलाई मेकअप गराइँदै थियो। निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा आफूलाई कुनै जानकारी नै नदिई फिल्मबाट हटाइएको र त्यसो गर्नुको कारण सोध्दा ‘लुगा लिन मात्र बोलाएको’ भन्दै थप अपमान गरिएको उनले उल्लेख गरेकी छिन्।
‘मधेशको छोरी भएको नाताले लडिरहनेछु’
काजलले यो घटनालाई केवल आफ्नो भूमिका खोसिएको कथाको रूपमा मात्र नहेर्न आग्रह गरेकी छिन्। उनले यसलाई नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नांगो रूप भनेकी छिन्। फिल्म सेटमा बस्ने ‘अहंकारी’हरूले आफ्नो पहिचानमाथि प्रहार गरे पनि आफूले हार नमान्ने उनले स्पष्ट पारेकी छिन्। “मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन,” उनले लेखेकी छिन्, “म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।” उनको यस अभिव्यक्तिले नेपाली कलाकारिता क्षेत्रमा व्याप्त विभेदको विरुद्ध गम्भीर बहस सिर्जना गरेको छ।

नायिका काजल कर्ण ले फेसबुकमा लेखेको पोष्ट यस्तो छ–
मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ…
सानैदेखि एउटा सपना थियो– ऐनाअगाडि उभिएर अभिनय गर्ने, ठूला पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेशको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरेँ। आमा–बुवाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ सम्म पु¥यायो। ‘परान’जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुशी नहुने कुरै थिएन।
तर, फिल्मको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार ग¥यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।
अहिले लाग्छ, मधेश र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ– टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।
फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्धर जस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो। तर, सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा ६ बजे फोन उठ्दा भन्नुभयो– ‘गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!
इटहरीमा सुटिङ भइरहेका बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चीफ एडी नेत्र सरले मलाई ‘लुगा खोइ?’ भन्दै थर्काउनुभयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनुभयो। त्यतिमै नपुगेर प्रशंसा जीले भन्नुभयो– ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।
सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्। मैले सोध्दा उनले भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’
मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने– ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। ‘यो मधेशी’ भन्दै सेटभरी मेरो मजाक उडाइयो। ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’, ‘ओई मधेसेनी, तिम्रो तिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि? ल, बोलाएर देखाऊ त!’, यस्तै यस्तै भनेर उनीहरू ममाथि खित्का छोडेर हाँसे।
स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नुभएन।
जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागेँ। एक्जेक्युटिभ प्रोडुसर शैलेश खत्रीले मलाई ‘पेमेन्ट हालिसकेँ, सेटमा आउनुस्’ भनेर झूट बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, ‘तिमी नहुने भयौ, तिम्रो लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’
मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेश जीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भन्नुभयो। इटहरी बोलाएर, अर्कै कलाकार राखेर, मलाई ‘लुगा लिन मात्र बोलाएको’ भन्नु कति ठूलो अपमान हो?
यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन। यो त नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नांगो रूप हो। मधेशका छोरीहरूले घरको कुरा र समाजको रुढीवादी सोच जितेर यहाँसम्म आउन कति संघर्ष गर्नुपर्छ, त्यो सेटमा बस्ने ती ‘अहंकारी’हरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने।
म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु– के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जिवी भवः’ को सेटमा मैले पाएको यो दुव्र्यवहारले फिल्म क्षेत्रको कुरुप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।
उही तपाईंकी काजल कर्ण।
यो पनि हेर्नुहोस्–
नेपाली संगितमा फराकिलो परिचय बनाउँदै गायिका उषा गजुरेल
वाओ! द भोईस अफ नेपाल सिजन ८ मा दर्शकले पनि ब्लाईण्ड अडिसन दिने मौका


























