हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय हेटौँडाको संयुक्त आयोजनामा एकदिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको प्रमुख प्रशिक्षणमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा कर अधिकृत ध्रुव सिंह घलानले आर्थिक विधेयक २०८३ ले व्यवस्था गरेको छुट तथा सहुलियतसम्बन्धी प्रावधानहरू बारे सुसूचित गराउनुभएको थियो ।
कार्यक्रममा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आर्थिक विधेयकले व्यवस्था गरेको सुविधाबारे उद्योगी तथा व्यवसायीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए । प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीले आर्थिक विधेयक अर्थमन्त्रीले संसद्मा टेबल गरेपछि कानुन सरह हुने, हरेक वर्ष आर्थिक विधेयकले केही न केही सुविधाको प्रबन्ध गर्ने गरेको र मकवानपुर जिल्लाको कुल करदातामध्ये आधाभन्दा बढी ननफाइलर रहेकाले कर छुट तथा सहुलियतको व्यवस्थाले त्यस्ता ननफाइलर घटाएर अनौपचारिक व्यावसायिक गतिविधिहरूलाई करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा सहजता सिर्जना गर्ने बताएका थिए ।
कार्यक्रममा मउवासंघका महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले मन्तव्य राखेका थिए भने कार्यक्रममा मउवासंघका पदाधिकारीहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्–
सिद्धार्थ ल क्याम्पस हेटौँडामा उत्कृष्ट नतिजा
द भोईस किड्समा तहल्का मच्चाउँदै हेटौँडाका आर्मन कार्की

























