Murchunga TV

हेटौँडा उपमहानगरपालिकाद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोडको बजेट सार्वजनिक

हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न उपमहानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ५ करोड रुपैयाँले घटाइएको जानकारी दिनुभयो। संविधान, १६औँ योजना, दिगो विकास लक्ष्य र ‘समृद्ध हेटौँडा’ एवं ‘महिलामैत्री हेटौँडा’ बहसबाट प्राप्त सुझावहरूलाई बजेटको मुख्य आधार बनाइएको उपमहानगरले जनाएको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। यसैगरी राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार र संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासन र आर्थिक विकासलाई विशेष प्राथमिकतामा राखेको छ।
हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार

पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने वडास्तरीय योजनाहरूका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सहरी सौन्दर्य र सुरक्षाका लागि सडकबत्ती व्यवस्थापनमा ९५ लाख, सिसिटिभी जडानमा ५३ लाख र ठूला आयोजनाको अध्ययन तथा डिजाइनका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ। खानेपानी व्यवस्थापनका लागि १ करोड ९० लाख, आकस्मिक मर्मतका लागि २ करोड र एकीकृत बसपार्क निर्माणका लागि ४ करोड ६० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

स्वास्थ्य र सामाजिक सुरक्षातर्फ अपाङ्गता, एकल महिला, पोषण कोशेली घर तथा क्यान्सर र डायलाइसिस सेवाका लागि २ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने हटिया र पदमपोखरीका अस्पतालहरूको स्तरोन्नतिका लागि समेत बजेट व्यवस्था गरिएको छ। आर्थिक विकासतर्फ कृषि सुधारका लागि ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख र उद्योग तथा सहकारीका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुदको विकासका लागि १ करोड ४० लाख, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमा १ करोड, अग्नि नियन्त्रणमा २ करोड १० लाख र वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ र सुशासन एवं सूचना प्रविधि विस्तारका लागि २ करोड ६५ लाख रुपैयाँ छुट्याइएको उपप्रमुख बानियाँले जानकारी दिनुभयो।

यो पनि हेर्नुहोस्– हेटौँडा उपमहानगरपालिकाद्वारा कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.