हेटौँडा । नेपाली संगीत क्षेत्रमा प्रतिभा, संघर्ष र समर्पणको अर्को नाम बन्दै गएकी छन् गायिका, शब्दकार, संगीतकार तथा मोडल उषा गजुरेल (Usha Gajurel)। साधारण परिवेशबाट उठेर निरन्तर मेहनत र संगीतप्रतिको अथाह प्रेमका साथ अघि बढेकी उषाले आज आफूलाई नेपाली संगीतका सम्भावनाशील स्रष्टामध्ये एकका रूपमा स्थापित गरिरहेकी छन्।
गायिका Usha Gajurel को साँगितिक यात्राको सुरुवात
करिब सात वर्षसम्म संगीत गुरु चन्दन कुमार श्रेष्ठसँग औपचारिक संगीत शिक्षा हासिल गरेकी उषाले सिकाइलाई केवल कक्षाकोठामा सीमित राखिनन्, बरु संघर्षलाई नै आफ्नो विश्वविद्यालय बनाएर निरन्तर अघि बढिन्। उनको प्रतिभाको पहिलो ठूलो राष्ट्रिय परिचय रेडियो अन्नपूर्ण नेपालद्वारा आयोजित “तीज मनाउने, रेडियोमा गाउने, सबैलाई सुनाउने” राष्ट्रिय तीज गायन प्रतियोगिता बाट भयो। देशभरबाट सहभागी भएका करिब १२० प्रतिस्पर्धीमध्ये प्रथम स्थान हासिल गर्दै उनले एक लाख रुपैयाँ नगद पुरस्कार जितिन्। यही सफलताले उषाको सांगीतिक यात्रालाई नयाँ उचाइतर्फ डोर्यायो।

द भोईस अफ नेपालमा Usha Gajurel को प्रशिद्धि
त्यसपछि उनले लोकप्रिय गायन रियालिटी शो द भ्वाइस अफ नेपाल मा सहभागिता जनाउँदै ब्लाइन्ड अडिसन पार गरेर ब्याटल राउण्डसम्मको यात्रा तय गरिन्। राष्ट्रिय टेलिभिजनको मञ्चमा प्रस्तुत भएको उनको स्वरले धेरै संगीतप्रेमीको ध्यान खिच्न सफल भयो।
Usha Gajurel को सांगितिक सफलताको उडान
उषाको सांगीतिक करिअरमा अर्को महत्वपूर्ण मोड बन्यो “मौसम” गीत। वरिष्ठ संगीतकार सुरेश अधिकारी को शब्द तथा संगीत रहेको उक्त गीतले प्रतिष्ठित बिन्द्याबासिनी म्युजिक अवार्ड जित्न सफल भयो। यही गीतबाट उषाको नाम नेपाली संगीतवृत्तमा थप मजबुत रूपमा स्थापित हुन पुग्यो। त्यसपछिको सिर्जना “स्वास” ले पनि उल्लेखनीय सफलता हासिल गर्यो। सूरज पण्डित को शब्द र उषा गजुरेलको स्वर रहेको उक्त गीतले जिनियस म्युजिक अवार्ड प्राप्त गर्दै उनको उपलब्धिको सूचीमा अर्को गौरवपूर्ण अध्याय थप्यो।

त्यसैगरी “यो सोझो पल्कियो” गीतमा श्रीकृष्ण बम मल्ल को शब्द तथा संगीत रहेको छ। यस गीतमा द भ्वाइस अफ नेपालका विजेता किरण गजमेर र उषा गजुरेलको सुमधुर स्वर सुन्न सकिन्छ भने भिडियोमा लोकप्रिय अभिनेता पल शाह को अभिनय रहेको छ। गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलेको थियो। लोकलयमा आधारित “कुटुकुटु” गीतमा उषाले चर्चित लोकगायक राजु परियार सँग स्वर मिलाएकी छन्। अर्जुन पोखरेल को शब्द तथा संगीत रहेको उक्त गीतले लोकसंगीतप्रेमीको मन जित्न सफल भएको छ।

बहुमुखी प्रतिभाकी धनी गायिका Usha Gajurel
उषाको सिर्जनात्मक क्षमता केवल गायनमा सीमित छैन। उनले आफ्नै शब्द, संगीत र स्वरमा “पप्पी देऊ न” गीत सार्वजनिक गरिन्। सामाजिक सञ्जाल विशेषगरी टिकटकमा अत्यन्त लोकप्रिय बनेको उक्त गीत १० लाख भ्युजको नजिक पुगिसकेको छ। यसले उषालाई नयाँ पुस्तामाझ थप लोकप्रिय बनाएको छ। राष्ट्रप्रेमको भाव बोकेको “कोइली” गीतमार्फत पनि उषाले आफ्नो फरक पहिचान प्रस्तुत गरेकी छन्। देश, माटो र राष्ट्रिय भावनालाई समेटेर तयार गरिएको यो गीत संगीतप्रेमीहरूका लागि विशेष महत्वको सिर्जना बनेको छ।
संगीत क्षेत्रमा सफलता एकै दिनमा प्राप्त हुँदैन। त्यसका लागि वर्षौंको साधना, असंख्य संघर्ष र अटल विश्वास आवश्यक हुन्छ। उषा गजुरेलको यात्रा यही सत्यको जीवन्त उदाहरण बनेको छ। संगीत सिक्ने विद्यार्थीबाट राष्ट्रिय प्रतियोगिताकी विजेता, रियालिटी शोकी प्रतिस्पर्धी, अवार्ड विजेता गायिका, शब्दकार तथा संगीतकारसम्मको उनको यात्रा आज हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

रेडियो अन्नपूर्णको राष्ट्रिय विजेता, द भ्वाइस अफ नेपालको प्रतिस्पर्धी, बिन्द्याबासिनी म्युजिक अवार्ड विजेता, जिनियस म्युजिक अवार्ड विजेता तथा निरन्तर सिर्जनामा सक्रिय उषा गजुरेलको यात्रा अझै जारी छ। संगीतप्रेमीहरू विश्वास गर्छन्— “आजसम्मका उपलब्धि उषा गजुरेलको गन्तव्य होइनन्, ती त केवल अझ ठूलो उडानका सुरुवाती खुड्किला मात्र हुन्।” संघर्षको माटोमा उम्रिएको प्रतिभाको फूल कहिल्यै ओइलाउँदैन, उषा गजुरेल त्यसैको सुन्दर उदाहरण हुन्।
यो पनि हेर्नुहोस्–
गायिका उषा गजुरेलको ‘कोइली’ सार्वजनिक
उषा गजुरेलको ‘पप्पी देउ न’ टिकटकमा भाईरल






















