Murchunga TV

४ जीपीए ल्याउने मकवानपुरका १३ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान

हेटौंडा उपमहानगरपालिका

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। जिल्लाका विभिन्न विद्यालयबाट ४ जीपीए प्राप्त गरी जिल्लाकै गौरव बढाएको भन्दै १३ जना विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो।

उपमहानगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका ती विद्यार्थीहरूलाई जनही ६ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरेको छ।

सम्मानित हुने विद्यार्थीहरूमा नवोदय शिशु सदनका वृष्टि जयस्वाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली रहेका छन्। त्यस्तै, जी.एस. निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारीलाई पनि सम्मान गरिएको छ।

बालजागृति अंग्रेजी माध्यम विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक विद्यालयका कुष्मा लौडारी र आभास घिमिरे पनि सम्मानित भएका छन्। यसका साथै आधुनिक विद्यालयका प्रशान्त यादव, बालज्योति विद्यालयका शुभम खनाल र फ्याम्कल विद्यालयका कृष्ण रिजाललाई नगरले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै नगरका प्रतिनिधिहरूले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले मकवानपुर जिल्लाकै शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको चर्चा गरे। उनीहरूले आगामी दिनमा पनि यस्तै सफलता र निरन्तर उत्कृष्टताका लागि विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले अन्य विद्यार्थीहरूमा पनि प्रतिस्पर्धात्मक र सकारात्मक उर्जा थपिने विश्वास लिइएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.