मकवानपुर । गायिका अञ्जना सारुको नयाँ गीत ‘तिम्रो मायाले’ जेठ १ शुक्रबार गते सार्वजनिक हुने भएको छ । द भोईस अफ नेपाल सिजन ७ की सर्वाधिक चर्चित प्रतियोगी तथा सुमधुर आवाजकी धनी अञ्जनाले भिडियोसहित गीत सार्वजनिक गर्न लागेकी हुन् ।
शोमा दमदार प्रस्तुतिहरु दिएर तहल्का मच्चाएकी अञ्जनाले शो सकिए लगत्तै विभिन्न चर्चित गीतहरु सार्वजनिक गरेकी छिन् । यसैबिच पछिल्लो पटक सार्वजनिक हुन लागेको गीत ‘तिम्रो मायाले’ मा अञ्जनाको सुमधुर आवाजसँगै अभिनय पनि हेर्न सकिनेछ । म्युजिक भिडियोमा द भोईस अफ नेपाल सिजन ७ की अर्की चर्चित प्रतियोगी मनुमित लेप्चा र कलाकार प्रभात पल ठकुरीको अभिनय रहेको छ ।

निशान कुमालको शब्द तथा विनय कार्की क्षेत्रीको संगीत रहेको गीतका म्युजिक प्रोड्युसर संजीव सुब्बा हुन् । गीतको मिक्सिङ मास्टरिङ साजन शाहले गरेका छन् ।
म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् । जेनिश तामाङको छायाँकन रहेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई आरोही बिट्सले प्रस्तुत गर्न लागेको हो ।

गायिका अञ्जना सारु द भोईस अफ नेपाल सिजन ७ को सेमिफाईनलसम्म पुग्न सफल भएकी थिईन् । उनी सिजन ७ मा चारै जना कोचको कुर्सी घुमाउने बिसौँ प्रतियोगी हुन् । पाल्पाकी अञ्जनाको प्रस्तुतिमा ब्लाईण्ड अडिसनमा कोच मेलिनाले कोच खेमलाई ब्लक गरेकी थिईन् । २७ वर्षीया अञ्जना कोच मेलिनाको टिममा थिईन् । ब्लाईण्ड अडिसनमा उनको कारुणिक प्रस्तुतिले दर्शकहरुको मन छोएकोले दर्शकहरुले वान्समोरको हुटिङ समेत गरेका थिए । त्यसपछि उनले शोमा लगातार चर्चा पाएकी थिईन् ।
