हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र निर्माण गरिएको यस आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्तरूपमा गरे। सोही अवसरमा बजार उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले डीपीआर अनुसारको योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको हो। बजार भवनको बेसमेन्टमा सवारी पार्किङको सुविधा छ भने भुइँ तल्लामा २० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुई वटा यात्रु लिफ्ट स्थापना गरिएको छ। पहिलो तल्लामा थप २० वटा सटर रहेका छन्।
रिटेल सपिङका लागि छुट्टै भवन निर्माण गरिएको छ, जसको भुइँ तल्लामा ११ वटा सटर, दुईवटा कार्गो लिफ्ट तथा पहिलो तल्लामा १२ वटा सटरसहित किसानहरूका लागि २३२ वर्गमिटर क्षेत्रफलमा टहरा व्यवस्था गरिएको छ। साथै, ४३७.२ वर्गमिटर क्षेत्रफलमा फैलिएको कोल्ड स्टोरेजको निर्माण पनि गरिएको छ, जसको भण्डारण क्षमता ५०० मेट्रिक टन रहेको छ। यसले प्रदेशभित्र उत्पादन हुने कृषि उपजको दीर्घकालीन भण्डारण तथा बजारीकरणमा ठुलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रमुखहरू, व्यापारी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। आधुनिक प्रविधियुक्त यो कृषि बजारले प्रदेशभरिका किसानहरूलाई उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न सक्ने वातावरण बनाउने विश्वास गरिएको छ।
