Murchunga TV

नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) हेटौंडामा सम्मानित

सावित्रा भण्डारी (साम्बा)

हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) हेटौंडामा एक विशेष समारोहका बीच सम्मानित भएकी छन्। सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको “देश चिनाउने साम्बासँग हाम्रो चिनजान” शीर्षकको कार्यक्रममा कप्तान भण्डारीलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनिया प्रमुख अतिथि थिए। भण्डारीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरनबहादुर जोशीले सम्मान प्रदान गरेका थिए।

सम्मान ग्रहण गर्दै कप्तान साम्बाले आफूले मोजाबाट बनाइएको भकुण्डोबाट फुटबल यात्रा सुरु गरेको स्मरण गर्दै सुरुवाती संघर्षको कथा सुनाइन्। उनले भनिन्, “अरु बच्चाहरू फुटबल खेलिरहँदा म भने मोजाको भकुण्डो समाएर मैदानमा हुन्थें।” उनले अहिले खेलकुदप्रतिको सोचमा सकारात्मक परिवर्तन आएको र नयाँ पुस्ताले खेल्नका लागि सामग्रीको अभाव नभएको उल्लेख गरिन्।

साम्बाले महिला फुटबल टोली समाजमा सकारात्मक परिवर्तन ल्याउने सोचसहित अघि बढिरहेको बताउँदै शिक्षा र खेल दुवैमा सन्तुलन आवश्यक रहेको धारणा व्यक्त गरिन्। उनले अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्न सधैँ समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा उपप्रमुख बाँनियाले सावित्रा भण्डारी, प्रिति राईजस्ता खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाएको उल्लेख गर्दै ‘एक वडा, एक खेल मैदान’ अवधारणाअनुसार हेटौंडा उपमहानगरले खेलमैदान निर्माणमा जोड दिएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूहकी संस्थापक अध्यक्ष सरिता दाहाल, शिक्षाविद् पुरनबहादुर जोशीलगायतले मन्तव्य राखेका थिए।

सम्मान कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.