हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ।
नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ।
यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।