हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहसहित हेटौंडामा मनाइने भएको छ। वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस हरेक वर्ष उत्सवको रूपमा मनाइँदै आएको हो।
संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन तथा पत्रकारितामा यसको योगदानबारे छलफल गरिनेछ। साथै, बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया पनि हुनेछ।
यस अवसरमा ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ। चितवनको राप्ती नगरपालिका–७ निवासी सफल युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत अभिभावक आइते सिं रुम्बा र बुद्धिमाया नेगीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन्।
संघका सचिव दिल बहादुर रुम्बा तामाङका अनुसार, बागमती प्रदेशभित्र क्रियाशील एक जना तामाङ पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कार राशी १० हजार १ सय रुपैयाँ रहनेछ र तामाङ प्रसारण दिवसकै अवसरमा विशेष समारोहबीच प्रदान गरिनेछ। पुरस्कारसम्बन्धी सम्पूर्ण निर्णयको अधिकार तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई रहने संघले जनाएको छ।
संघले आफ्नो स्थापना कालदेखि नै तामाङ समुदायको हक–हित, पहिचान, भाषा, संस्कृति तथा कला–साहित्यको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएको छ।