Murchunga TV

हेटौंडामा ‘स्वर समर्पण’ जनसांस्कृतिक साँझको तयारी तीव्र

हेटौंडामा

हेटौंडा । नेकपा (एमाले) मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीको व्यवस्थापनमा यही साउन ७ गते हेटौंडामा आयोजना हुने जनसांस्कृतिक साँझ “स्वर समर्पण” को तयारी तीव्र पारिएको छ।

कार्यक्रमलाई सुव्यवस्थित र सफल बनाउनका लागि पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी जम्मा २७ जना स्वयंसेवक समावेश गरिएको हो।

संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयंसेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ। उपसमितिले सहभागीहरूको समुचित व्यवस्थापन, अनुशासन र सहयोग सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।

बैठकमा जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउतले जनवादी गीत तथा सांस्कृतिक प्रस्तुतिको तयारीबारे जानकारी गराएका थिए भने पार्टी जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भव्य र मर्यादित बनाउन सबैलाई सक्रिय हुन आग्रह गरे।

कार्यक्रमको प्राविधिक पक्ष, स्थल व्यवस्थापन र डिजिटल प्रचार सामग्री डिजाइनको जिम्मेवारी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनलाई दिइएको छ।

संयुक्त बैठक एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा तथा पार्टी जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टी जिल्ला सदस्य दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौंलागाईं लगायत जनसंगठनका अध्यक्षहरू र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैबीच, नेकपा (एमाले) मकवानपुरले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा बिहान ७ बजे श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ। पार्टी जिल्ला सचिव सिता विष्टका अनुसार, कम्युनिष्ट आन्दोलनका प्रेरणास्रोत पुष्पलाल श्रेष्ठको योगदानलाई स्मरण गर्दै एमालेले हरेक वर्षझैँ यस वर्ष पनि स्मृति दिवस भव्य रुपमा मनाउने तयारी गरेको हो।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.