Murchunga TV

पदमपोखरी र गोगनपानीबाट मध्यवर्ती क्षेत्रको खारेज गर्न हस्ताक्षर संकलन

मध्यवर्ती क्षेत्रको खारेज गर्न हस्ताक्षर संकलन

हेटौँडा । हेटौँडा–१३ पदमपोखरी र मनहरी क्षेत्रका स्थानीयबासीले बस्तीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन माग गर्दै हस्ताक्षर संकलन अभियान थालेका छन्। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिको अगुवाइमा सुरु गरिएको अभियानमा वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गामा स्वामित्व दाबी गर्न नपाएको गुनासो राखिएको छ।

समितिका संयोजक सूर्य थोकरका अनुसार, संकलित हस्ताक्षर स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष बुझाइनेछ। यसअघि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएकाले यसपटक थप दबाब सिर्जना गर्ने उद्देश्यले अभियान अघि बढाइएको उनले बताए। माग सम्बोधन नभए थप आन्दोलनको तयारी भइरहेको जानकारी समेत थोकरले दिए।

स्थानीयका भनाइमा वि.सं. २०११ मा हेटौँडा १२, १३, १४ र वि.सं. १९९५ मा मनहरीको गोगनपानीमा बसोबास सुरु भइसकेको थियो। त्यसपछि ती क्षेत्रलाई राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पार्नु अन्यायपूर्ण भएको उनीहरूको आरोप छ।

संघर्ष समितिले राष्ट्रिय निकुञ्ज ऐन २०२८ र मध्यवर्ती क्षेत्र नियमावली २०५२ को नाममा वि.सं. २०६३ यता चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गाभिएको प्रक्रियालाई खारेज गर्दै सम्बन्धित कानुन संशोधन गर्न माग गरेको छ।

पदमपोखरी चोकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका धिरेन लामा, नेकपा माओवादी केन्द्रका सोविन थिङ, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, राप्रपाका स्थानीय नेताहरू तथा मनहरी संघर्ष समितिका संयोजक क्षेत्रबहादुर वाइबालगायतले ऐक्यबद्धता व्यक्त गरेका थिए।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.