Murchunga TV

हेटौँडामा एसइइमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, शिक्षा जीवन बुझ्ने कला भएको प्रदेश प्रमुख देवकोटाको भनाई

हेटौँडामा एसइइमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शिक्षा केवल परीक्षा पास गर्ने साधन नभई जीवन बुझ्ने कला भएको बताएका छन्। निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन नेपाल) मकवानपुरले २०८१ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा उहाँले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख देवकोटाले शिक्षा सुखद गन्तव्यतर्फको यात्रा भएको उल्लेख गर्दै एसइइमा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका थिए। “विद्यार्थीहरू असिमित क्षमताले भरिपूर्ण हुनुहुन्छ,” भन्दै उहाँले भने, “यदि तपाईंभित्रको क्षमतालाई देखाउने क्यामेरा बनेको भए, तपाईंहरू आफैं दंग पर्नुहुन्थ्यो र अभिभावकहरू गर्वले मुस्कुराउनुहुन्थ्यो।”

उहाँले उत्कृष्ट नतिजा ल्याउन विद्यार्थी मात्र होइन, शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समेत महत्वपूर्ण योगदान रहेको स्पष्ट पारे। “विद्यार्थीहरू आजका मात्र होइनन्, भोलिका नीति निर्माता, वैज्ञानिक र समाज सुधारक हुन्,” उहाँले भने, “राष्ट्र, समाज र परिवारले तपाईंहरूबाट ठूलो आशा राखेका छन्।”

प्रमुख देवकोटाले मेहनतकर्मी अभिभावकको सपना साकार पार्ने जिम्मेवारी विद्यार्थीहरूमा रहेको उल्लेख गर्दै अनुशासन, मेहनत र संस्कारको बलमा उनीहरूले जीवनका हरेक चुनौती पार गर्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रम प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ३.६ देखि ४ जिपिए ल्याएर एसइइ पास गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो।

त्यस अवसरमा प्याब्सन मकवानपुरका प्रमुख सल्लाहकार मदन दाहालले शिक्षा विकासमा निजी विद्यालयहरूको योगदान अद्वितीय रहेको धारणा राखे।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.