Murchunga TV

पुष्पलालको ४७ औँ स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण- जनसाङ्गीतिक साँझ’ हुने

पुष्पलालको ४७ औँ स्मृति दिवस

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मकवानपुरको हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरको व्यवस्थापनमा उक्त कार्यक्रम साउन ७ गते (आइतबार) हुने बताइएको छ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेबाट सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरले १४ वटा जनवादी गीत प्रस्तुत गर्ने तयारी गरेको छ। यस्तै, अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूबाट पनि विशेष सांगीतिक प्रस्तुती रहने संयन्त्रका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार, कार्यक्रममा पार्टी स्वयंसेवक विभागले स्वयंसेवक व्यवस्थापन र परिचालनको जिम्मेवारी लिएको छ। संयन्त्र प्रमुख पौडेलले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै जनसंगठन समन्वय संयन्त्र नेकपा एमालेका भातृ संगठनहरूको समन्वय र परिचालन गर्ने वैधानिक संरचना भएको बताए। यस संयन्त्रले जनसंगठनहरूको प्रभावकारी परिचालन, विचार–राजनीतिक प्रशिक्षण, जनता–संगठन अभियान र संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ।

यस वर्षको स्मृति दिवसमा आयोजित ‘स्वर समर्पण’ कार्यक्रमले नयाँ पुस्तालाई जनवादी संगीतमार्फत नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जीवनदर्शन बुझाउने अपेक्षा आयोजकले राखेको छ।

पुष्पलाल श्रेष्ठको जन्म १५ असार १९८१ मा रामेछापको भंगेरीमा भएको थियो भने ७ साउन २०३५ मा भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा निधन भएको थियो। उनले १० वैशाख २००६ मा कोलकाताको श्यामबजारमा नेकपा स्थापना गरेका थिए। राणा विरोधी आन्दोलनका शहीद गंगालाल श्रेष्ठका माइला भाइ पुष्पलाल १५ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय थिए। उनका पिता भक्तलाल श्रेष्ठले छोराको राजनीतिका कारण सरकारी जागिर गुमाएका थिए।

पुष्पलालले २०१७ सालपछि भूमिगत जीवन बिताएका थिए र २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा चिनिन्छन्। सरकारले उनको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.