भीमफेदी । लामो समयदेखि बेडसोरको समस्याबाट पीडित ९७ वर्षीया अशक्त वृद्धालाई सहजीकरण गर्न भीमफेदी गाउँपालिका–२, भैंसे स्वास्थ्य चौकी अन्तर्गत प्रशामक सेवा समूहले एयर म्याट्रेस प्रदान गरेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशामक सेवा टोली, मकवानपुर जिल्ला प्रशामक सेवा टिम, तथा भीमफेदी गाउँपालिका प्रशामक सेवा समूहको समन्वयमा सहयोग प्रदान गरिएको हो। प्रशामक सेवामार्फत घरमै पुगेर स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रयास अन्तर्गत यो कार्य सम्पन्न गरिएको जनाइएको छ।
यस सेवाका लागि विशेष समन्वय र प्रेरणा प्रदान गरेको भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाप्रति प्रशामक सेवा समूहले विशेष आभार प्रकट गरेको छ। जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित गरिएको यस कार्यले वृद्ध आमालाई शारीरिक राहत पुर्याउने विश्वास लिइएको छ।
यसप्रकारको सेवा विस्तारले गाउँपालिकामा प्रशामक सेवाको पहुँच र प्रभावकारिता थप बलियो बनाउने अपेक्षा गरिएको छ।